नियम १८
इजाजतपत्र सम्बन्धी व्यवस्था
(१) नाप तौल वा नाप्ने तौलने यन्त्र बनाउन, मर्मत गर्न, बिक्री गर्न वा सेवा प्रदान गर्न चाहने व्यापारीले इजाजतपत्रको लागि नाप तौल वा नाप्ने तौलने यन्त्र बनाउन अनुसूची ११ (क), मर्मत गर्न अनुसूची–११ (ख), बिक्री गर्न अनुसूची–११ (ग) र सेवा प्रदान गर्न अनुसूची–११ (घ) बमोजिमको ढाँचामा निरीक्षक समक्ष निवेदन दिनु पर्नेछ ।
(२)उपनियम (१) बमोजिमको विवरण सहितको निवेदन प्राप्त भएपछि निरीक्षकले सम्बन्धित व्यापारीलाई अनुसूची–११ (ङ) बमोजिमको धरौटी रकम र दस्तूर लिई अनुसूची–१२ बमोजिमको इजाजतपत्र दिनेछ ।
(३) उप–नियम (२) बमोजिम प्राप्त इजाजतपत्र प्रत्येक वर्ष नवीकरण गर्न अनुसूची–१३ बमोजिमको विवरणसहित निवेदन निरीक्षकसमक्ष दिनु पर्छ । निरीक्षकले पनि उपनियम (२) बमोजिमको दस्तूर लिई इजाजतपत्र नवीकरण गरी दिनुपर्छ ।
(४) उप–नियम (२) बमोजिमको इजाजतपत्र व्यापारी तथा व्यवसायीले आफ्नो बनाउने मर्मत गर्ने बिक्री गर्ने वा सेवा प्रदान गर्ने स्थानमा सबैले देख्ने गरी राख्नुपर्छ ।
(५) उप–नियम (२) बमोजिम इजाजत प्राप्त व्यापारी तथा व्यवसायीले आपूmले बनाएको, मर्मत गरेको वा विक्री गर्न राखेको नाप तौल वा नाप्ने तौलने यन्त्रको विभागद्वारा निर्धारित तरीकामा अभिलेख राख्नुपर्छ र त्यस्तो अभिलेख निरीक्षकले मागेको बखत निजसमक्ष पेश गर्नुपर्छ ।
(६) निरीक्षकले उप–नियम (२) बमोजिम इजाजतपत्र प्राप्त व्यापारी तथा व्यवसायीले चाहिने वर्कशप र स्टाफको व्यवस्था गर्न नसकेमा वा ऐन र यी नियमहरु उल्लंघन गरेमा त्यस्तो व्यापारी तथा व्यवसायीको इजाजतपत्र खोस्ने, स्थगित गर्ने वा नवीकरण नगर्ने आदेश दिन सक्नेछ र धरौटी रकम समेत जफत गर्न सक्नेछ । तर, त्यस्तो व्यापारी तथा व्यवसायीलाई आफ्नो सफाइ पेश गर्ने मौका नदिई त्यस्तो आदेश दिइने छैन ।
(७) निरीक्षकले उप–नियम (२) बमोजिम इजाजतपत्र प्राप्त व्यापारी तथा व्यवसायीको अभिलेख अनुसूची–१४ बमोजिमको ढाँचामा राख्न वा राख्न लगाउनुपर्छ ।